Sunday, October 25, 2015

५० लाखको अफर

५० लाखको अफर
                              – राजेन्द्र विश्वकर्मा
मलाई ५० लाखको अफर,
मर्नु पर्ने भो,
कसैको इच्छा पुरा गर्न,
अनि,
प्राप्त हुनेभो ५० लाख,
मेरो मूल्य,
५० लाख रूपैयाँ,
कसैको स्वार्थपूर्तिका लागि,
मुख्यमन्त्री, संसद आदि इत्यादि
बन्ने उनको चाहाना पुरा गर्न,
म मेरो जीवन अन्त्य गर्नु पर्‍यो,
भन्नुहोस म के गँरू !
के म मरिदिउँ,
५० लाखको लागि,
म मरेर ५० लाख,
कस्तो अचम्म !
मेरो मूल्य उनले तोक्ने,
मेरो बाँच्न पाउने अधिकार खैं,
म खुसी हुँ कि दुःखी,
५० लाखको अफरमा,
मैले नबुझेको कि नेताले ?
के मेरो जीवन,
अर्थहीन, उपयोग विहीन, असक्षम छ ?
के म बाँच्नु नै,
यो देशलाई बोझ छ,
कि जनतालाई मर्न उस्काउने नेता ?
मैले आँकल्न सकेको छैन,
तिमी को हौं,
मेरो जीवनको मूल्य तोक्ने,
धिकार छ तिमीलाई,
जनता मार्ने तिम्रो योजना,
र,
सत्ता मोहलाई,
तिमी,
जनताको आवाज बोल्नु पर्ने,
अहिंसा रोज्नु पर्ने,
तर…..
के म मरु,
तिम्रो इच्छा पुरा गर्न !
के अर्थ ५० लाखको,
म आफू नरहे,
मलाई जवाफ देऊ,
म मरेर के हुन्छ,
हैन भने किन मेरो मूल्य तोक्यौ,
तिम्रो मन रोएन,
जनता मार्ने योजना बुन्दा,
किन रोज्छौं हिंसा,
आजित छन् जनता हिंसाबाट,
धिकार छ,
तिमीलाई फेरि,
मेरो जीवनको मूल्य तोकेकोमा
र,
देश रुवाउने तिम्रो सिद्धान्तलाई ।
२०७२ भाद्र २ गते

निरन्तर लेख्ने प्रयास www.rajendrabk.com.np

ब्लगिंग नगरेको धेरै समय भयो । अब गर्ने भनेर जागर चलाएको छु । कहिले आफ्नो व्यस्तता, कहिले विषयको अभाव, सबै भन्दा ठुलो कुरा लेख्छु भन्ने प्रतिबद्दता नभएर लेखिएन तर अब निरन्तर लेख्ने प्रयासमा छु ।

Saturday, June 09, 2012

साईत बल्ल जुर्यो ।

पहिलाको ल्यापटप बिग्रिएर नबन्ने भएको धेरै भयो । अर्को ल्यापटप किन्नु होला होला भन्दा भन्दै दुई वर्ष पार गरि सकेछ । समयले नेटो काट्न केहि बेर नै हुदो रहेनछ । त्यसैले समय काटेको पत्तै भएन । ल्यापटप बिग्रियो, डेस्कटपले काम चलिरहयो । ल्यापटपको  धेरै भन्दा धेरै आवश्यक भएको महशुस पनि भएन तर भएको भए हुने भन्ने महशुस भने भै नै रहयो । महशुसले मात्र केही हुने रहेनछ । महशुसलाई यथार्थमा परिवर्तन गर्न धेरै कुराले भूमिका खेल्दा रहेछ- चाहेर वा नचाहेर । धेरै कुराको थिचो मिचोलाई पार गर्दै आजसम्म पार गरियो र हिजो (२०६९ जेष्ठ २६ गते शुक्रबार) बल्ल नयाँ ल्यापटप ल्याउने साईत जुर्यो । ल्यापटप नभै नहुने भए पछि जसरी तसरी ल्याउन बाध्य भए र ल्याए ।

(Dell i3-3450 VOSTRO)